मंगलवार, आश्विन १३ गते २०८३

हमासले बन्धक बनाएका विपिन जोशीका आमा र बहिनी इजरायल प्रस्थान

सोमवार , श्रावण २६, २०८२

काठमाडौँ । हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गर्न उनका आमा पद्‌मा जोशी र बहिनी पुष्पा जोशी आज (सोमबार) बिहान इजरायल प्रस्थान गरेका छन्। 

उनीहरू काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको विमान चढेर इजरायतर्फ लागेका हुन्। विमानस्थल प्रवेश गर्दा उनीहरू रोएका थिए।

नेपालका लागि इजरायली दूतावासले नै उनीहरूका लागि टिकटको व्यवस्था गरिदिएको हो । ‘सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल गएका विपिनलाई हमास समूहले २०८० सालको असोज २० गते बन्धक बनाएको बताइएको छ । हमासको कब्जामा रहेको भनिएका जोशीको अवस्थाका बारेमा अहिलेसम्म कुनै जानकारी बाहिर आएको छैन ।

युद्ध सुरुको भएको केही समयपछि इजरायल सुरक्षा फौज आईडीएफले बन्धक अवस्थाका विपिनलाई हमास लडाकुले स्थानान्तरण गर्दै गरेको भिडिओ सार्वजनिक गरेको थियो । त्यसपछि विपिनबारे कुनै जानकारी आएको छैन ।

‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थी २०८० भदौ अन्तिम साता इजरायल गएका थिए । हमासको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थी मारिएका थिए।

हमासले फालेको ग्रिनेड अर्कोतर्फ फालेर नेपाली विद्यार्थी जोगाउने विपिनलाई हमासले बन्धक बनाएर लगेको थियो । विपिनको उद्धारका लागि परिवारका सदस्यले कयौं पटक राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च पदस्थ व्यक्तिलाई भेटिसकेका छन् । सरकारले कूटनीतिक पहल जारी राखेको बताए पनि हालसम्म उपलब्धि देखिएको छैन ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार