काठमाडौँ । कुवेतमा अवैध तथा विषाक्त मदिरा पिउँदा ६ जना नेपालीसहित १३ एसियाली नागरिकको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासले यस घटनाबारे थप विवरण आउन बाँकी रहेको र बुझ्ने काम भइरहेको जनाएको छ ।
विभिन्न अस्पतालमा मदिरा सेवन गरेर बिरामी भएकाहरूको उपचार भइरहेको दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यले बताए।
तर, मृतकमध्ये नेपाली र कुन कम्पनीमा कार्यरत हुन भन्ने बुझ्ने क्रममा रहेको उनले बताए । नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्लले पनि घटनाको पुष्टि गर्दै घटनामा ६ जना नेपाली परेको र थप विवरण प्राप्त गर्न बाकी रहेको जनाएका छन् । कोरोना संक्रमणकालमा पनि यस्तै मदिरा सेवन गर्दा १२ जना नेपालीको ज्यान गएको थियो ।
ज्यान गुमाउनेमा २ जना आदान अस्पतालमा र ४ जना सालबिया क्षेत्रमा कम्पनीकै मजदुर शिविरमा छन् । मृत्यु हुने ६ जना नेपालीमध्ये ५ पुरुष सहित एक जना महिला रहेको पत्रकार महासंघ कुवेत शाखा अध्यक्ष राज मल्लले नेपाल प्रेसलाई बताए ।
उनका अनुसार कुवेतस्थित आदान, फर्वनिया र मुबारक अलकबी अस्पतालमा बिरामीहरूको उपचार भइरहेको छ । कुवेती समाचार संस्था कुवेत टाइम्सका अनुसार गत शनिवारदेखि विषाक्त मदिरा पिएर अस्पताल भर्ना हुने क्रम बढेको हो । विषाक्त मदिरा सेवनका कारण बुधवारयता ६३ जना अस्पतालमा भर्ना भएको र १३ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको समाचारमा उल्लेख छ ।
कुवेतमा मदिरा पूर्णरूपमा प्रतिबन्धित छ । तर, पनि लुकिछुपी उत्पादन गरी अवैधानिक रूपमा बेचबिखन हुँदै आएको छ । विषाक्त मदिराको स्रोत पत्ता लगाउन अनुसन्धान भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।