काठमाडौँ । गोंगबुको कञ्चन कोशी होटल एण्ड लजमा मृत भेटिएकी २७ वर्षीया ललिता बिकलाई उनकै श्रीमानले हत्या गरेको प्रहरीको निष्कर्ष छ ।
साउन ३० मा लजको २०१ नम्बर कोठामा गन्ध आएपछि लज सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । नुवाकोट घर भएर बुढानीलकण्ठ बस्दै आएकी ललितालाई साउन २७ मा उनका श्रीमान् सन्तोष सेन्चुरीले लजमा लगेर हत्या गरेका हुन् ।
काभ्रेको भुम्लु घर भएका सेन्चुरीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पर्साबाट पक्राउ गरेर काठमाडौँ ल्याएको छ । ललिताले सन्तोषसँग २ वर्षअघि विवाह गरेकी थिइन् । पछिल्लो समय उनीहरूकोबिचमा सम्बन्ध राम्रो थिएन । सन्तोष परस्त्रीसँग प्रेम सम्बन्धमा रहेको अनुसन्धानबाट खुलेको छ ।
परस्त्रीसँग प्रेम सम्बन्धका कारण सन्तोषले ललितालाई मानसिक र शारीरिक यातना दिन्थे । पछिल्लो समय सम्बन्ध विच्छेद गर्ने सहमति भएर दुवै जना अलग बस्न थालेका थिए । साउन २७ मा सन्तोषले सम्बन्ध विच्छेदबारे अन्तिम छलफल गर्ने भन्दै ललितालाई गोंगबुको लजमा बोलाए ।
करिब ३ घण्टा लजमा सँगै बसेर उनले घाँटी थिचेर पत्नीको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।