काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले सेनाभित्र आर्थिक अनियमितता गरेको भन्दै केही उच्च अधिकारीमाथि कारबाही अघि बढाएका छन्। ठेकेदारसँग मिलेमतो गरी बजेट दुरुपयोग गरेको आरोपमा उनले चार जना जर्नेल र दुई जना कर्नेललाई छानबिनको दायरामा ल्याएका हुन्।
प्रधानसेनापति सिग्देलले उपरथी प्रकाश देउजा, डिजिएमएस डा. अरुण शर्मा, सहायकरथी भुवन कुँवर, सहायकरथी भरत भण्डारी, महासेनानी दीपक भण्डारी र प्रमुख सेनानी सुजन प्रधानमाथि छानबिन थालेका छन्। तीमध्ये कुँवर र प्रधानलाई जिम्मेवारीबाट हटाइसकिएको छ।
डा. कुँवरलाई सिग्देलका सम्धी यादव कुँवरका नातेदार भएकै कारण अस्पतालको प्रमुख बनाइएको बताइएको छ। हाल उनलाई सैनिक सचिवकोमा तानेर अतिरिक्त समूहमा राखिएको छ।
सेनाको अस्पतालमा करिब १५ करोड रुपैयाँ बराबरको ल्याब उपकरण खरिदमा अनियमितता भएको आरोपपछि छानबिन सुरु गरिएको हो।