काठमाडौं । काठमाडौं महानगरपालिकाले ज्यादती गरेको भन्दै कबाड व्यवसायीले बुधबार तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन् ।
भृकुटीमण्डपबाट सुरु भएको कबाड व्यवसायीको प्रदर्शन कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालयसम्म पुगेको थियो । सो क्रममा प्रदर्शनकारीहरूले महानगर घेराउ गरेका थिए । कबाड व्यवसायी सङ्घर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताले सर्वोच्च अदालतको आदेश विपरीत काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले कबाड व्यवसायीमाथि ज्यादती गरिरहेकाले शान्तिपूर्ण आन्दोलनमा उत्रिएको बताएका छन् ।
सर्वोच्चको आदेश पालना गर्नुपर्ने र कबाड व्यवसायीलाई शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न दिनुपर्ने माग गरेका छन् । उनले सर्वोच्च अदालतले दिएको आदेशको पालना गर्ने प्रतिबद्धता बालेनले नगरेसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने बताएका छन् । कानुनको पालना गर्ने प्रतिबद्धता बालेनले नगरेसम्म आन्दोलन जारी रहने उनको भनाइ रहेको छ । शान्तिपूर्ण आन्दोलन गरिरहेका आन्दोलनकारीलाई काठमाडौंका सुकुम्बासीले पनि साथ दिएका छन् ।
आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास मोर्चाका अध्यक्ष कालबहादुर विकले कबाड आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गर्दै आन्दोलनलाई समर्थन गरेको बताएका छन् । कबाड आन्दोलनमा सहभागीहरूले सर्वोच्च अदालतको आदेश पालना गर, कबाड व्यवसायीमाथिको अत्याचार बन्द गर, बालेनको गुण्डागर्दी एवं तोडफोड बन्द गर लगायतका नारा लगाएका छन् । कबाड व्यवसायीले विभिन्न ५ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।
उनीहरुले आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् । संविधानले दिएको पेसा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कबाड व्यवसायी, सङ्कलक र मजदुरमाथि काठमाडौं महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती, र संरचना भत्काउने कार्यहरू तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौं महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।
त्यसैगरी, कबाड व्यवसायी, सङ्कलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौं महानगर प्रहरीले कबाड व्यवसायीमाथि पुर्याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग छ ।
यसैबिच, आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले काठमाडौं महानगरको विरुद्ध लगातार तीन दिनदेखि जारी कबाड आन्दोलनप्रति सरकार गम्भीर नहुनु दुःखद भएको बताएका छन् ।