मंगलवार, आश्विन १३ गते २०८३

राष्ट्रिय युवा नीति–२०८२ : १८ देखि ३५ वर्ष उमेर समूहकालाई मात्रै युवा भनिने

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं । युवाको उमेर अब १८ देखि ३५ सम्म कायम हुने भएको छ । सरकारले हालै ‘राष्ट्रिय युवा नीति–२०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८–३५ कायम हुने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

यसअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ अनुसार युवाको उमेर १६–४० वर्ष थियो । सरकारले नयाँ युवा नीति जारी गरेको हो । राष्ट्रिय युवा नीतिमा उल्लेख गरिएको छ, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकुल हुने गरी नेपालको सन्दर्भमा १८ देखि ३५ वर्षको उमेर समूहको जनसङ्ख्यालाई युवा मानिनेछ ।’ २०७८ सालको जनगणना अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या ४२.५६ प्रतिशत थियो ।

परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतले अब नयाँ युवा नीति अनुसारको युवाको जनसङ्ख्या निकाल्न आग्रह गरिएको बताएका छन् । बालबालिकासम्बन्धी ऐनमा बालबालिकाको उमेर १८ सम्म मानिने हुनाले १८ देखि ३५ वर्ष उमेर समूहलाई युवामा राखिएको हो । संयुक्त राष्ट्रय सङ्घले १५ देखि २४ वर्ष उमेर समूहलाई युवा भनेर परिभाषा गरेको छ । भारतले १५ देखि २४ बर्षको उमेर समूहलाई युवा मान्दै आएको छ ।

परिषद्का उपाध्यक्ष बस्नेतले ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ संशोधन नभएसम्म युवाको उमेर कानूनी रुपमा भने १६ देखि ४० बर्ष हुने बताएका छन् । उनले भने, ‘युवा नीति अनुसार ऐन संशोधन गर्नुपर्दछ ।’

प्रत्येक पाँच वर्षमा युवा नीति परिमार्जन गर्नुपर्ने भएपनि १० बर्षपछि नीति संशोधन गरिएको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार