शनिवार, आश्विन १७ गते २०८३

उपाध्यक्ष पाण्डे भन्छन्– विद्या भण्डारीको सदस्यताबारे निर्णय सच्चाउने स्थिति बन्छ

सोमवार , भाद्र १६, २०८२

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे पार्टीले निर्णय सच्याउने स्थिति आउने दाबी गरेका छन् ।

उक्त निर्णय नसच्चिएसम्म आफूहरू लागिरहने उनको भनाइ थियो । सोमबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग अन्तर संवाद गर्ने क्रममा उनले यस्तो बताएका हुन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषयमा पछिल्लो पटक बसेको एमाले केन्द्रीय कमिटी बैठकले रोक लगाएको थियो । पार्टीको उक्त निर्णयमा पाण्डेले फरक मत दर्ज गरेका थिए । पार्टी अपानिमा उक्त मत सर्कुलर नभएपछि उनले पार्टीमा पुनः स्मरण गराएका थिए ।

यसबारे सञ्चारकर्मीले उठाएका प्रश्नको जवाफ दिने क्रममा पाण्डेले भण्डारीको सदस्यता पार्टीले रोक्छ जस्तो नलागेको बताएका छन् । पाण्डेले भने, ‘विद्या भण्डारीको प्रवेशलाई पनि मलाई के लाग्छ भने यो पार्टीले रोक्छ जस्तो लाग्दैन । फर्कंदैन कि फर्कंदैन भनेको यो पार्टी पनि फरक्क फर्कने स्थिति देखिन्छ, हामी आशावादी छौं, हामी त्यहाँसम्म पुग्छौं, जहाँसम्म यो कुरा सच्चिँदैन ।’

उनले पार्टीमा सबैभन्दा ठूलो सदस्यहरू नै हुने भएकाले अन्य नेताहरूको केही नचल्ने बताएका छन् । उनले भने, ‘एमालेका सदस्य भन्दा ठूलो शक्तिशाली कोही छैन् । सदस्यहरूको डिटर्मिनेशन भएपछि कोही नेताको केही चल्दैन् । जहाँबाट पनि स्थिति फर्कन बाध्य हुन्छ, हेर्दै जानुस्, हामीले भनेको कुरामा शंका लाग्न सक्छ, अर्को अर्को साक्षात्कारमा तिमिहरूले भनेको कुरा सत्य रहेछ भन्ने स्थिति आउँछ ।’

उनले एमाले एकातिर हिँडिरहँदा अर्कोतर्फको बहस पनि सँगसँगै चलाउँदै हिँड्ने पार्टी भएको पनि बताएका छन् । उपाध्यक्ष पाण्डेले भने, ‘यताबाट हिँडिरहेको बेलामा पनि हामी उताको बारेमा बहस गरिरहेका हुन्छौं । हामी अर्को बाटोको बहस गरिरहेका छौं, नेकपा एमाले त्यो कोर्सबाट आएको पार्टी हुनाले यस्ता धेरै आन्दोलनका परिणामहरू पनि हुन् ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार