मंगलवार, आश्विन १३ गते २०८३

अनिवार्य अवकासमा जान लागेका आईजीपी थापा र २ एआईजी हेडक्वाटरबाट बिदा हुँदै

बुधवार , भाद्र १८, २०८२

काठमाडौं । आजदेखि अनिवार्य अवकासमा जान लागेका प्रहरी महानिरीक्षक(आईजीपी) दीपक थापा, अतिरिक्त महानिरीक्षकहरू सुदीप गिरी र टेकबहादुर तामाङलाई बिदाई गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले दिउँसो २ बजेदेखि विदाइको कार्यक्रम राखेको प्रहरीले जनाएको छ । विदाइ कार्यक्रमपछि तीनैजनालाई प्रहरी प्रधान कार्यालयबाट निवाससम्म स्कर्टिङसहित पुर्‍याउने तयारी गरिएको छ । उनीहरुलाई भावि प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले विदाइ गर्ने कार्यक्रम रहेको छ । अघिल्लो साता नै खापुङलाई सरकारले प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ ।

हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख रहेका खापुङले बिहीबारदेखि प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हाल्ने भएका छन् । अवकासमा जाने थापाले आईजीपी गएको चैत ५ गतेदेखि प्रहरीको नेतृत्व गरेका थिए । नेतृत्व सम्हालेको करिब साढे पाँच महिनामै उनी विदा भएका हुन् । दुई एआईजी र थापा ३० वर्षे सेवा अवधिका कारण अवकास हुन परेको हो । उनीहरु तीनै जना २०५२ साल भदौ १९ गते प्रहरी निरीक्षकमा नियुक्त भएका थिए।

गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा र तामाङ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख छन् । उनीहरु अवकास भएसँगै बिहीबारदेखि सीआईबीसहित यी कार्यालय पनि प्रमुखबिहिन हुँदैछन् । यससँगै चार जना एआईजीको दरबन्दी पनि रिक्त हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार