शनिवार, आश्विन १७ गते २०८३

सामाजिक सञ्जाल बन्द भएर नखुल्दासम्म असल सामाजिक परम्पराहरू पुनर्स्थापित गरौं : पोखरेल

बिहिवार , भाद्र १९, २०८२

काठमाडौँ । सरकारले दर्ता हुन नआएका फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेका बेला नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल बन्द नभएर नखुल्दासम्म असल परम्पराहरू पुनर्स्थापित गर्नुपर्ने बताएका छन् ।

महासचिव पोखरेलले बिहीबार बिहान फेसबुकमा सन्देश दिँदै लेखेका छन्, 'सामाजिक सञ्जाल बन्दभई नखुल्दासम्म त्यसले खल्बल्याइदिएका असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्ने कोशिस गरौं । सुखद् अनुभूति हुनेछ ।' सत्तासिन एमाले महासचिवको पोस्टले सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्न लागेको संकेत गर्छ । 

सरकारले नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाल कम्पनीलाई दर्ता अनिवार्य गर्ने तयारी गरेको र दर्ता नभएकालाई बन्द गर्ने चेतावनी यसअघि नै दिइसकेको छ । 

सरकारले मेटालगायत सामाजिक सञ्जाल दर्ताका लागि दिएको समयसीमा सकिएको छ । तर, समयसीमा सकिए पनि सामाजिक सञ्जाल दर्तामा आएका छैनन् । 

सरकारले सामाजिक सञ्जाललाई नियमन गर्ने उद्देश्यले नेपालमा सूचीकरण हुन आह्वान गरेको थियो । त्यसअनुसार टिकटक, भाइबर, निम्बुज, विटक, ओपोलाइट सूचीकरण भएका छन् । 

यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले टिकटकलाई निष्क्रिय बनाएको थियो । तर सरकारको सम्पर्कमा आएर सूचीकरण गर्न राजी भएपछि हाल टिकटक निर्वाध सञ्चालनमा छ ।

तर फेसबुक, ट्वीटर, युट्युबलगायत लोकप्रिय सामाजिक सञ्जालहरू दर्ता प्रक्रियामा अझै आएका छैनन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार