मंगलवार, आश्विन १३ गते २०८३

मितेरी सहकारीका अध्यक्ष गुरुङ ३५ लाख धरौटीमा रिहा

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङ ३५ लाख धरौटीमा रिहा भएका छन् ।

गुरुङ कसुरदार होइनन् भन्ने अवस्था नदेखिएता पनि ८१ वर्षका जेष्ठ नागरिक रहेको र उनको स्वास्थ्य अवस्था, आरोपित कसुरको अवस्था, कसुरमा उनको संलग्नता र उनलाई हुन सक्ने सजायसमेत विचार गर्दा थुनामै राख्नुपर्ने नदेखिएको भन्दै अदालतले ३५ लाख रुपैयाँ धरौटी माग गरेको हो । यसअघि प्रहरीले गुरुङलाई समेत प्रतिवादी बनाए पनि पक्राउ भने नगरी मुद्दा बुझाएको थियो । गुरुङ आफैँ अदालतमा उपस्थित भएपछि जिल्ला अदालत ललितपुरकी न्यायाधीश निर्मला योङयाको इजलासले बिहीबार धरौटीमा छाड्न आदेश गरेको हो ।

मितेरी सहकारी ठगीमा १४ करोड २९ लाख २४ हजार ७५४ रुपैयाँ बिगो कायम गरिएको छ । यसमध्ये ३ करोड बढी कुम्भराजसहितको ज्योति भण्डारी र ज्योति गुरुङले ठगी गरेको आरोप छ । ज्योति भण्डारी र सुवास खत्री पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । अर्का प्रतिवादी सुरेश अधिकारी भने ७ लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् ।

कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी स्याङ्जाकी ४७ वर्षकी ज्योति गुरुङ, खोटाङका ४९ वर्षीय विजयकुमार राई, बाग्लुङका ३५ वर्षीय प्रदीप भन्ने प्रितम अधिकारी र सिन्धुपाल्चोकका ३३ वर्षका अर्जुन अराम फरार रहेका छन् । खत्री र आरमलाई हुण्डीको कसुरमा पनि प्रतिवादी बनाइएको छ । उनीहरूले ६ अर्ब ७४ करोड ३२ लाख ६९ हजार ८९ रुपैयाँ २२ पैसा हुन्डीको कारोबार गरेको प्रमाण फेला परेको अभियोग पत्रमा दाबी गरिएको छ ।

खत्रीलाई क्रिप्टो कारोबारमा २ हजार १४९ अमेरिकी डलर (करिव ३ लाख रुपैयाँ) को कारोबार गरेको आरोप छ । उनलाई उक्त कसुरमा पनि प्रतिवादी बनाइएको छ । कसुर अनुसार सबै प्रतिवादीलाई छुट्टा छुट्टै बिगो कायम गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार