काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजकलशको अभिषेक ग्रहण गरेकी छन्।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारीले काठमाडौँ उपत्यकाका ब्राह्मण राजोपाध्यायहरूको कान्तिपुरीय उपाकर्म गुठीद्वारा श्रावणी कर्ममा स्थापना गरिएको राजकलशको अभिषेक ग्रहण गरेकी हुन्।
मुलुकमा गणतन्त्रको स्थापनापछि राजकलश राजदरबारमा पुर्याउने परम्परा केही वर्ष टुटेको भए पनि गत केही वर्षयता राष्ट्राध्यक्षको रूपमा राष्ट्रपतिबाट अभिषेक ग्रहण हुँदै आएको छ।
श्रावण पूर्णिमाका दिन उपाकर्म गुठीका गुठियारद्वारा शोभाभगवतीको विष्णुमती तथा भद्रमतीको दोभानमा विधिपूर्वक श्रावणी स्नान गरी नव यज्ञोपवित धारण गर्ने प्रचलन रहिआएको छ। अरुन्धतीसहित सप्तर्षिको पूजाका साथै राजकलश स्थापना गरी श्रावणी यज्ञ गरिने परम्परा छ। देवतर्पण, ऋषितर्पण र पितृतर्पणका साथै विधिपूर्वक दिवङ्गत पितृ गणहरूमा फलपिण्ड दान गरी श्राद्ध गरिनुका साथै सप्तर्षिको प्रसादस्वरूप कुलका थकालीका हातबाट रक्षाबन्धन (डोरो) बाँधिन्छ।
यसरी श्रावणीकर्म सम्पन्न भएपछि विधिपूर्वक स्थापना गरिएको राजकलश राष्ट्राध्यक्षलाई अभिषेक तथा रक्षा बन्धन गर्ने परम्परा रहेको छ। राष्ट्राध्यक्षबाट दक्षिणा स्वरूप एघार चाँदीका मोहर दिइन्छ।