काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरिएको बताएको छ।
विभागका प्रवक्ता विभूति पोखरेलले आइतबार सूचना जारी गरी मनसुन कमजोर भई मौसममा सुधार आइसकेको जानकारी दिएकी हुन्।
तर मनसुन नेपालबाट बाहिरिनसकेकाले अझै पनि वर्षा हुने सम्भावना रहन्छ। तथापि बितेका २ दिनजस्तो लगातार र भीषण वर्षा अब नहुने आकलन विभागले गरेको हो।
विज्ञप्तिमा भनिएको छ, ‘वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएर मनसुन कमजोर भई मौसममा सुधार आइसकेको भए तापनि मनसुन बहिर्गमन भइनसकेको हालको अवस्थामा यस विभागले मौसम र बाढीको सम्भावित अवस्थाको नियमित अनुगमन गरिरहेको छ। तसर्थ यस विभागबाट वेबसाइट, सामाजिक सञ्जाल, टोल फ्रि सेवा (११५५) तथा एसएमएसलगायतका माध्यमबाट सम्प्रेषण गरिने अद्यावधिक पूर्वसूचना प्राप्त गरी आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।’
मौसम विभागका अनुसार यसअघि बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणालीका कारण यही असोज १७ गते साँझदेखि १९ गते बिहानसम्म मनसुन सक्रिय भएको थियो। यस अवधिमा मधेस र बागमती प्रदेशका अधिकांश स्थानमा भारीदेखि अतिभारी वर्षा तथा कोसी प्रदेशका अधिकांश स्थानमा मध्यमदेखि अतिभारीसम्म वर्षा भएको छ।
मनसुन नेपाल भित्रिने सरदर मिति जुन १३ तारिख भए पनि यो वर्ष १५ दिनअगावै प्रवेश गरेको थियो भने बाहिरिन पनि केही ढिला भइरहेको हो। नेपालबाट मनसुन बाहिरिने सरदर मिति यही अक्टोबर २ तारिख थियो। तर यसमा हरेक वर्ष तलमाथि हुने गरेको छ।