काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ को थापाकटेरी भन्ने ठाउँमा आफ्नै छोराले आमाको विभत्स हत्या गरेका छन् ।
हिजो आइतबार (१९ असोज) राति साढे ८ बजेतिर ३० वर्षीय यमबहादुर कँडेलले मादक पदार्थ र लागूऔषध सेवन गरेर ५५ वर्षीया आमा राममाया कँडेलको हत्या गरेका हुन् । प्रहरीले दिएको जानकारी अनुसार, यमबहादुरले धारिलो हतियार प्रहार गरेर आमाको हत्या गरेका हुन् । प्रहरी चौकी सल्यानकोटले यमबहादुरलाई गएराति नै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार, यमबहादुर यसअघि पनि पटकपटक विभिन्न मुद्दामा पक्राउ पर्दै आएका व्यक्ति हुन् । उनी गुण्डा नाइके दिनेश अधिकारी ग्याङमा संलग्न भएर काम गर्दै आएको पनि अनुसन्धानका क्रममा खुलेको छ । प्रहरी स्रोतका अनुसार आपराधिक गिरोह चलाउने दिनेश अधिकारी चरी समूहमा पनि उनी संलग्न रहेको खुल्न आएको छ ।
उनले सुरुमा भान्जालाइ खुकुरी प्रहारको प्रयास गरेका थिए । भान्जा भागेपछि बुवालाई पनि प्रहार गर्न खोजेका थिए । यबमबहादुरका बुवा पनि भागेपछि उनले आमालाई प्रहार गरेका थिए । प्रहरी अधिकारीका अनुसार, आमाको टाउको र शरीर छुट्टिनेगरी उनले विभत्स रुपमा हत्या गरेका छन् ।
हत्या गरेपछि आँगनमा शव राखेर उनले बुवालाई धम्क्याए । स्थानीय जनप्रतिनिधिले भने, ‘हामीहरू प्रहरीसहित पुग्दा उनी हातमा खुकुरी नचाइरहेका थिए । बुवाको काँधमा खुकुरी राखेर आफूले ठिक गरेको भन्दै घटना लुकाउन यमबहादुरले धम्की दिइरहेका थिए ।’ यमबहादुरलाई सुधार गृहमा लानका लागि बुवा गोपबहादुर कँडेल लगायतले उनलाई पटकपटक भन्दै आएका थिए ।
यसपटक पनि घरमा उसलाई सुधार गृह पठाउने कुरा चलेको थियो तर उनले मानेनन् । सायद परिवार नै आफूलाई सुधार गृह पठाउने षड्यन्त्रमा लागेको शंका मानेर उसले हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।