सोमवार, श्रावण २५ गते २०८३

काभ्रेको पाँचखालमा बसले ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते

बुधवार , आश्विन २२, २०८२

काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका–६ मा बसले ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन् ।

काठमाडौंबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा२ख ६५७९ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको सडक विभागको बा ५ ख ६८३ नम्बरको आइचर ट्रकलाई पाँचखाल नगरपालिका–६ दुलालथोकमा ठक्कर दिएको थियो । बसले ठक्कर दिँदा ट्रक अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा परी ट्रकका ६ जना र बसका २ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ट्रकमा सवार ३ जनाको अवस्था गम्भीर रहेको प्रहरी चौकी पाँचखालले जनाएको छ । प्रहरीका अनुसार ट्रकमा सवार काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिका–६ का रेशम थापा, बेथानचोक गाउँपालिका–४ का ४३ वर्षीय लाइतलाल तामाङ र  झापाका ५८ वर्षीय लालबहादुर राई गम्भीर घाइते भएका छन् ।

त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका–१ का ५८ वर्षीय शेरबहादुर तामाङ, फुर्वा तामाङ र भक्तपुर सूर्यविनायक का ५८ वर्षीय रामचन्द्र अधिकारी सामान्य घाइते भएका छन् । बसमा सवार सिन्धुपाञ्चोक बाह्रबिसे नगरपालिका–२ का ७० वर्षीय युक्तबहादुर खत्री र बलेफी गाउँपालिका–६ का ६६ वर्षीय गोपिलाल पराजुली सामान्य घाइते भएका छन् ।

घाइतेको तत्काल उद्धार गरी पाँचखाल आधारभूत अस्पतालमा सामान्य उपचार पश्चात् धुलिखेल हस्पिटल पठाइएको छ । बस चालक भने पाँचखाल प्रहरी चौकीको नियन्त्रणमा रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार