काठमाडौं । हुम्लाको चंखेलीमा जिप दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये पहिलो लटमा तीन जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ ।
घाइते मध्ये महेन्द्र रोकाया, कैलाश सिरा र पार्वती सिरालाई थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको सुर्खेत प्रहरीले जनाएको छ । अन्य घाइतेहरूलाई दोस्रो उडानमार्फत सुर्खेत लगिने प्रहरीले जनाएको छ ।
चंखेली गाउँपालिका–४ बेशी खोला स्थितभित्री सडक खण्डमा शुक्रबार मेल्छामबाट पिप्लाङ तर्फ जाँदै गरेको कर्णली प्रदेश ०२००१ च १०९१ नं. को डबल क्याप जिप अनियन्त्रित भई सडकदेखि ३०० मिटर तल खस्दा १२ जना घाइते भएका थिए । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।
उनीहरूको उद्धार गरी उपचारका लागि स्थानीय पिप्लाङ बर्थिङ सेन्टरमा पुर्याइएको थियो । तर त्यहाँ उपचार सम्भव नभएकोले थप उपचारका लागि सुर्खेत पठाउन सेनाको हेलिकप्टर माग गरिएको प्रहरीले जनाएको छ ।