काठमाडौं । नेपाली सेनाले जेन–जी आन्दोलनका क्रममा मारिएका ७६ जना मध्ये २२ जना मात्रै प्रदर्शनकारी रहेको तथ्यांक सार्वजनिक गरेको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरेर सेनाले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । मारिनेमध्ये प्रहरी तीन जना, कैदीबन्दी १० जना र ४१ जना अन्य घटनाहरूमा मारिएको सेनाको तथ्यांक छ । सेनाले देशभर ४८४ स्थानमा आन्दोलन भएको जनाएको छ । आन्दोलनका क्रममा ६८८ सरकारी कार्यालय, २५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दलका पार्टी कार्यालय र ३०७ प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको तथ्यांक सेनाले निकालेको छ ।
यस्तै आन्दोलनकै समयमा देशभरका कारागारबाट १५ हजार ५८८ कैदीबन्दी फरार भएकामा ८ हजार ७९९ जना कैदीबन्दी पक्राउ परेको र फर्किएको जनाएको छ । सेनाको यो तथ्यांकअनुसार अझै ६ हजार ७८९ जना कैदीबन्दी फरार रहेका छन् ।
यस्तै आन्दोलनकै क्रममा ९७८ हातहतियार लुटिएकामा अहिलेसम्म ५८६ वटा हतियार फिर्ता गरिएका र बरामद भएका छन् । सो तथ्यांकअनुसार अझै पनि ३९२ हतियार गायब भएका छन् ।