काठमाडौँ । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको हत्या भएको छ।
७३ वर्षीय पुजारी रामदुलार साहको गएराति करिब २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारीका परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिए।
गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए। अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युमा गोली प्रहार गरेका थिए।
घटना भएको केही मिनेटमै स्थानीयले काचनलीस्थित प्रहरी चौकीमा खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कडरबोनाबाट समेत प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान थालेको छ।
घटनास्थलबाट दुईवटा गोलीका खोका फेलापरेको प्रहरीले जनाएको छ। घटनापछि भारतीय सीमावर्ती क्षेत्रमा शङ्कास्पद व्यक्तिमाथि चेकजाँच तीव्र बनाइएको प्रहरीले जनाएको छ।