गङ्गासागरको घाटमा अहिले पण्डाल लगाउने काम अन्तिम चरणमा पुगेको छ भने झिलीमिली बत्तीको काम बाँकी छ। गङ्गासागरमा तीन वटा समितिले सजावटको काम गरिरहेका छन्।
यस्तै, जनकपुरकै अरगजासरमा छठ घाट निर्माण गरिरहेका समितिका सचिव वीरेन्द्र कर्णले दसैँ सकिएपछि आफूहरू तयारीमा जुटिसकेको बताए। उनले सजावट तथा सफाइका लागि अहिले काम भइरहेको जानकारी दिए। यो पोखरीमा हिन्दूहरू मात्र नभई मुस्लिम समुदायका मानिसले पनि छठ पूजा गर्ने गरेका छन्।
शान्ति सुरक्षाका लागि प्रहरीसँग पनि समन्वय गरिएको छ। अरगजासर पोखरीमा पाँच हजारभन्दा बढी अर्घ रहने छन्। मिथिलाञ्चल क्षेत्रमा मनाइने पर्वहरू पूर्ण रूपले घरेलु उत्पादनमा निर्भर छन्। आफ्नै खेतबारीमा उत्पादन भएको गहुँ, चामललगायतको पिठोबाट छठको सामग्री बनाउने गरिन्छ।
त्यस्तै, छठ पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्नेको बजारमा अहिले भीड लागेको छ । जनकपुरधामका बजारहरूमा बाँसबाट र माटोबाट बनेका सामग्रीहरू जताततै बिक्री भइरहेका छन्।
छठ पर्वमा बाँस तथा माटोबाट बनेको सामानहरू शुद्ध मानिने भएकोले यसको माग अहिले बजारमा बढेको छ। मिथिलानीहरू अहिले माटोबाट बनेको घैँटो, हात्ती त्यस्तै बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपतीलगायतको सामान किन्नमा व्यस्त छन्।
चारदिनसम्म मनाइने छठपर्व शनिबारदेखि भने औपचारिक रूपमा सुरु हुँदैछ। चार दिनको यस पर्वमा बर्तालुले दुई दिन बिना अन्नपानी भोकै बस्नुपर्दछ। यस पर्वअन्तर्गत पहिलो दिन शनिबार ‘नहाय–खाए’ हुनेछ। दोस्रो दिन आइतबार दिनभरि उपवास बसी रातिमा ‘खीर’ बनाई देउतालाई चढाएर खानेछन्। यस विधिलाई ‘खरना’ भनिन्छ।
त्यस्तै, मूल दिन सोमबार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटोलगायत सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ दिइन्छ।
यस्तै, छठपर्वको अन्तिम दिन मङ्गलबार बिहानपख उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर पर्वको समापन गर्ने प्रचलन छ।