काठमाडौं । निर्देशक अमनप्रताप अधिकारीले भदौ २३ गते विद्यार्थीहरूको हत्या गर्नेहरुविरुद्ध अपशब्द बोले पनि आफूले कुनै पनि संरचनामा आगजनी नगरेको प्रष्टीकरण दिएका छन् । भदौ २४ गते संसद् भवन जल्दै गर्दा अपशब्द बोलेर बनाएको भिडिओ भाइरल भएपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।
सामाजिक सञ्जालबाट एक भिडिओ जारी गर्दै उनले आफ्नै आँखा अगाडि संसद् भवनभित्रबाट गोली चलाएर ४ जना स्कुल ड्रेसमा भएका विद्यार्थीहरूको हत्या भएपछि आक्रोशमा आएर अपशब्द बोलेको बताएका हुन् ।
आफ्नो भिडियोमा अपशब्द सुनेर असहज लागेकोमा उनले माफी मागेका छन् तर, जोलक्षित अपशब्द बोलिएको हो त्यसमा आफूलाई पछुतो नभएको उनको भनाई छ ।
उनले कुनै पनि सरकारी र व्यक्तिगत संरचनामा आगजनी गरेको प्रमाण ल्याउन पनि चुनौती दिएका छन् । प्रमाणित भए आफू जेल जान तयार रहेको उनको भनाई छ ।