आइतवार, श्रावण २४ गते २०८३

जेनजी आन्दोलनमा कैदी फरार प्रकरण : नक्खु कारागारमा रविसँग जाँचबुझ आयोगको सोधपुछ

सोमवार , कार्तिक १७, २०८२

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित आयोग सोमबार नक्खु कारागार पुगेर सोधपुछ गरेको छ ।

आयोगको टोलीले नक्खु कारागारमा सहकारी ठगी प्रकरणमा थुनामा रहेका रवि लामिछाने सहितका कैदीबन्दी कसरी फरार भए भन्ने विषयमा जानकारी लिएको छ ।

कारागार पुगेको टोलीले रवि लामिछाने, कारागारका नाइके, भाइ नाइके र चौकीदारसँग विस्तृत सोधपुछ गरेको छ । टोलीले फरार घटनाको कारण, सुरक्षा कमजोरी र त्यसमा संलग्न सम्भावित पक्षबारे तथ्य संकलन गरेको छ ।

यसअघि आईतबार आयोगले जेलर सत्यराज जोशीसँग बयान लिएको थियो । जोशीले आफूलाई बलजफ्ती गरेर रवि लामिछाने पक्षका व्यक्तिहरूले तयार पारेको पत्रमा हस्ताक्षर गराएको बताएका थिए । उनले पत्रको विषयवस्तुबारे जानकारी नदिई बाध्य भएर हस्ताक्षर गरेको बताएका थिए ।

जेलरको बयानपछि आयोगले सोमबार प्रत्यक्षस्थलमै पुगेर थप अनुसन्धान थालेको छ । जेनजी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले रवि लामिछाने सहितका कैदीबन्दीलाई नक्खु कारागारबाट बाहिर निकालेका थिए । त्यसपछि देशभर विभिन्न जेलबाट कैदीबन्दीहरू फरार भएका थिए ।

फरारमध्ये करीब ४ हजार कैदी अझै फेला परेका छैनन् भने रवि लामिछानेसहित झण्डै १० हजार जनालाई पुनस् पक्राउ गरी कारागारमा भित्र्याइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार