काठमाडौं । भारतीय चलचित्र जगतमा कीर्तिमान रच्न सफल एसएस राजामौली निर्देशित ब्लकबस्टर चलचित्र ‘बाहुबली’ फ्रेन्चाइजले अब एनिमेसनको दुनियाँमा नयाँ अध्याय सुरु गरेको छ ।
‘बाहुबलीः द इटर्नल वार’ नामक एनिमेटेड चलचित्रको पहिलो भागको टिजर सार्वजनिक भएसँगै यसले विश्वभरका प्रशंसकहरूमाझ पुनः उत्साह जगाएको हो । सार्वजनिक टिजरमा मुख्य पात्र अमरेन्द्र बाहुबलीलाई एक अलौकिक, शक्तिशाली र भव्य अवतारमा देखाइएको छ । चलचित्रको कथा अमरेन्द्र बाहुबलीको मृत्युपछि सुरु हुने सङ्केत टिजरले दिएको छ ।
‘बाहुबलीः द इटर्नल वार’ दुई भागमा निर्माण हुने बताइएको छ । चलचित्रको निर्देशन इशान शुक्लाले गरेका छन् । चलचित्रका प्रस्तुतकर्ता ‘बाहुबली’ का निर्माता एसएस राजामौली स्वयं हुन् भने शोबु यार्लागड्डा र प्रसाद देविनेनीले यसलाई निर्माण गरेका छन् । चलचित्रको मौलिक सङ्गीत एमएम कीरावाणीले दिएका छन् । उनैले बाहुबलीका दुवै चलचित्रमा सङ्गीत दिएका थिए ।
राजामौलीले सामाजिक सञ्जालमा टिजर सार्वजनिक गर्दै लेखेका छन्, ‘अमरेंद्र बाहुबलीको मृत्यु उनको अन्त्य थिएन। यो अनन्त केहिको सुरुवात थियो ।’ हालै एक अन्तर्वार्तामा राजामौली, प्रभास र राणा दग्गुबातीले यस एनिमेटेड चलचित्रको बजेट १२० करोड भारतीय रुपैयाँ रहेको बताएका थिए ।
‘बाहुबलीः द बिगिनिङ’ र ‘बाहुबलीः द कन्क्लुजन’ को अपार सफलतापछि हालै दुवै चलचित्रको सारलाई समेटेर ‘बाहुबलीः द एपिक’ प्रदर्शन गरिएको थियो । यो चलचिल हाल नेपाली सिनेमा घरहरुमा पनि प्रदर्शन भइरहेको छ ।