आइतवार, श्रावण २४ गते २०८३

पथलैया–निजगढ सडकखण्डमा जंगली हात्तीको आक्रमणबाट ट्रक चालक मृत्यु

सोमवार , कार्तिक २४, २०८२

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित पथलैया–निजगढ सडकखण्डमा जंगली हात्तीले आतंक मच्चाएको छ ।

आइतबार बेलुकादेखि नै सो क्षेत्रमा देखिएको जंगली हात्तीका कारण पूर्वपश्चिम राजमार्ग क्षेत्र आतंकित बनेको थियो । सोमबार बिहान ८ बजेको समयमा ना४ख १८३० नम्बरको ट्रक चालकमाथि जंगली हात्तीले आक्रमण गरेको छ । ट्रकबाट हाम्फालेर भाग्न खोज्ने क्रममा हात्तीको आक्रमणबाट ट्रक चालक जितपुरसिमरा–१ का करिब ४० वर्षीय राजकुमार चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

बेलुकादेखि नै हात्तीले आतंक मच्चाएपछि पूर्वपश्चिम राजमार्गमा गुड्ने गाडीलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रशासनले अनुरोध गरेको थियो । तर, केही गाडीका चालकहरूले अटेर गर्दा सोमबार बिहान यस्तो घटना भएको बारा प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पथलैया–निजगढ सडकखण्डको पिलुवा र निजगढ क्षेत्र बीचमा जंगली हात्तीले आतंक मच्चाएको हो ।

राजमार्ग क्षेत्रमा आतंक मच्चाउने हात्ती धपाउनका लागि बारा र चितवनबाट समेत हात्ती सहितको टोली परिचालन गरिएको बारा प्रहरीले जनाएको छ । आतंक मच्चाउने हात्ती धपाउनका लागि टोली परिचालन भएसँगै सोमबार १२ः३० बजेपछि राजमार्गमा गाडी गुड्न थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार