काठमाडौं । विगत २६ वर्षदेखि निरन्तर सत्य, निष्पक्ष र जनमुखी पत्रकारितामा समर्पित जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगालेलाई ‘जिनियस कम्युनिकेशन अवार्ड २०८२’ बाट सम्मानित गरिएको छ ।
नेपाल प्रहरी क्लबको सभाहलमा बुधबार सम्पन्न विशेष समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाले बगालेलाई सम्मानपत्र र स्मृतिचिन्ह प्रदान गर्नुभयो । मुख्यमन्त्री बानियाले बगालेको दीर्घ पत्रकारिता योगदानको प्रशंसा गर्दै भन्नुभयो, ‘समाजमा सत्य उजागर गर्ने, जनताको आवाज बन्ने र प्रवासी नेपाली समुदायलाई मातृभूमिसँग जोड्ने कार्यमा बगालेजस्तो पत्रकारका कारण नेपाली सञ्चारको स्तर विश्वभर पहिचान बनिरहेको छ ।’
सम्मान ग्रहणपछि बगालेले भावुक हुँदै भन्नुभयो, ‘पत्रकारिता केवल पेशा होइन, यो समाज परिवर्तनको अभियान हो। म अझै जिम्मेवार र निष्ठावान् भएर देश र प्रवासका नेपालीको आवाज बन्ने प्रयत्नलाई निरन्तरता दिन्छु ।’
२६ वर्षको निरन्तर पत्रकारिता यात्रा
रामजी बगालेले आफ्नो पत्रकारिता यात्राको सुरुवात साना स्थानीय पत्रिकाबाट गर्नुभएको थियो । हाल उहाँ जनसवाल राष्ट्रिय दैनिक, जनसवाल टेलिभिजन र www.janasawal.com का अध्यक्ष तथा सम्पादक हुनुहुन्छ । उहाँको नेतृत्वमा जनसवाल राष्ट्रिय दैनिकले नेपालमा श्रेणी ‘ए’ राष्ट्रिय दैनिकको मान्यता प्राप्त गरेको छ ।
अन्तर्राष्ट्रिय अनुभव र योगदान
बगालेले अहिलेसम्म बिश्वका ८३ देशमा पुगि स्थलगत रिपोर्टिङ र तेहा रहेका नेपाली समुदायको हकहितमा कलम चलाउनुभएको छ । नेपालका मुद्दालाई विश्व मञ्चमा पुर्याउने उद्देश्यले उहाँले विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन, सम्मेलन र वैदेशिक भ्रमणमा सक्रिय सहभागिता जनाउँदै आउनुभएको छ ।
साथै, सन् २००३ मा गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना अभियानमा संस्थापक टोलीका रूपमा उहाँको भूमिका ऐतिहासिक मानिन्छ । अहिले पनि उहाँ एनआरएनए आवाज विश्वभर फैलाउन र उनिहरुको लगानी स्वदेश भित्र्याउन कृर्याशिल हुनुहुन्छ ।
पत्रकारिता र सामाजिक उत्तरदायित्व
बगालेले पत्रकारितामार्फत प्रदेशमा बसेका गैराआवासीय नेपाली, वैदेशिक रोजगार, राष्ट्रिय एकता, सुशासन, मानवअधिकार र सामाजिक उत्तरदायित्वका मुद्दाहरूलाई निरन्तर उठाउँदै आउनुभएको छ ।
समाजसेवी मनका धनी बगालेले शिक्षाको पहुँचविहीन बालबालिकालाई सहयोग, विपद्को समयमा राहत संकलन र पत्रकार हकहितका अभियानहरूमा पनि अग्रणी भूमिका खेल्दै आउनुभएको छ ।
समाज र पत्रकारिता क्षेत्रका लागि प्रेरणा
‘जिनियस पत्रकारिता अवार्ड २०८२’ ले बगालेको २६ वर्षको समर्पित पत्रकारिता यात्राको कदर मात्र होइन, भावी पुस्ताका लागि प्रेरणाको स्रोत समेत बनेको आयोजकले बताएका छन् ।