आइतवार, श्रावण २४ गते २०८३

दुर्गा प्रसाईंलाई भेट्न हिरासत पुगेका ९ जनालाई प्रहरीले नियन्त्रणमा लियो

मंगलवार , मंसिर २, २०८२

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भेट्न जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा पुगेका ९ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार दिउँसो परिसरमा रहेका प्रसाईंलाई भेट्न पुगेका उनका निजी सुरक्षा गार्ड र नागरिक बचाउ महाअभियानका कार्यकर्ता पक्राउ परेका हुन् । परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताएका छन् । उनीहरू चढेर गएको गाडी पनि प्रहरीले खानतलासी गरेको छ ।

उनले भने, ‘उहाहरू अहिले हाम्रो नियन्त्रणमा हुनुहुन्छ । सोधपुछ भइरहेको छ, कोही के भन्नुहुन्छ । कसैले के भन्नुहुन्छ हामी बुझ्दैछौँ ।’ प्रसाईंलाई प्रहरीले सार्वजनिक शान्ति खलल पुर्‍याउने गरी अभिव्यक्ति दिएको आरोपमा सोमबार राति उनकै निवासबाट पक्राउ गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई थप ४ दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान अघि बढाउन अनुमति दिइसकेको छ । आजै नागरिक बचाउ महाअभियानका सदस्यहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै प्रसाईंलाई २४ घण्टाभित्र रिहाइ गर्न माग गरेका छन् ।

दुर्गा प्रसाईंले मंसिर ७ गते आन्दोलन घोषणा गरेपछि सरकारले त्यसलाई निस्तेज पार्न उनका समर्थकमाथि पनि निगरानी बढाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार