काठमाडौं । काठमाडौं प्रहरी परिसरले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसँग सम्बन्धित हालसम्म कुल १०४ वटा जाहेरी दर्ता गरेको जनाएको छ ।
परिसरले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त मात्रामा जाहेरी दर्ता गरिएको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै परिसरका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले दर्ता भएका उजुरीमध्ये व्यक्तिगत २२, सरकारी कार्यालयसँग सम्बन्धित ६६ र संस्थागत तथा व्यापारिक प्रतिष्ठानका १६ वटा रहेको जानकारी दिएका छन् ।
उनका अनुसार भदौ २३ र २४ को आन्दोलनको क्रममा परिसरमा ४९ जनाको मृत्यु दर्ता भएको छ । मृतकमध्ये ७ जनाको पहिचान हुन नसकेको उल्लेख गर्दै उनले पहिचानका लागि डीएनए परीक्षणका लागि पठाइएको बताएका छन् । उनले भने, ‘भदौ २३ र २४ मा भएको मानवीय क्षतिका सम्बन्धमा काठमाडौं जिल्लाभित्र ४९ वटा मृत्युका घटना दर्ता भएका छन् । जसमध्ये हालसम्म पनि पहिचान नखुलेको संख्या ७ रहेको छ । उनीहरुको पहिचानको लागि डिएनए परिक्षणका लागि पठाइएको र अझै केही समय लाग्नेछ ।’
एसपी भट्टराईले ७ वटा उजुरीहरू तामेलीमा राखिएको पनि उल्लेख गरेका छन् । उनले आन्दोलनको क्रममा भएको क्षतिका सम्बन्धमा विभिन्न २ सय २८ वटा स्थानबाट क्षतिको विवरण संकलन गरिएको जानकारी दिएका छन् । उनले कर्तव्य ज्यान, आपराधिक उपद्रव, चोरी, हातहतियार खरखजनासम्बन्धी, अभद्र व्यवहार र ज्यान मार्ने उद्योगसम्बन्धी १ सय ५४ मुद्दा दर्ता गरिएको जानकारी दिए ।
उनका अनुसार दर्ता भएका मुद्दामा प्रहरीले हालसम्म २ सय ६७ जनालाई पक्राउ गरेको छ । तीमध्ये ८७ जनालाई हाजिरी जमानीमा छोडेर अनुसन्धान जारी छ भने १ सय १३ जनालाई न्यायिक हिरासतमा राखिएको छ । न्यायिक प्रक्रियामा पेस गरिएका अभियुक्तमध्ये २३ जना धरौटीमा रिहा भएका छन् भने ४३ जना पुर्पक्षका लागि थुनामा राखिएका छन् । पक्राउ परेकामध्ये ५ जना मात्र महिला रहेको उनले जानकारी दिए ।
उनले जेन–जी आन्दोलदनका क्रममा जेलब्रेक गरेर भागेका ५९ जनालाई फिर्ता ल्याइएको बताए । पुनः पक्राउ गरिएका थुनुवाहरु ज्यान मार्ने उद्योगदेखि अभद्र व्यवहारमा सजाय काटिरहेको उनको भनाइ छ । उनले बाँकी १५ जना थुनुवाहरू समेत आफूहरूको सम्पर्कमा रहेको जानकारी दिए ।