शुक्रवार, आश्विन १६ गते २०८३

डा. स्वर्णिम वाग्ले भन्छन्– नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु गलत हो

बुधवार , मंसिर १०, २०८२

काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु गलत हुने बताएका छन् ।

राष्ट्रिय युवा परिषद्ले बुधवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्  । उनले २०४८ सालपछिको निर्वाचित सरकारले लिएको आर्थिक नीतिका कारण नेपालमा धेरै परिवर्तन भएको बताएका छन् । यसलाई सबैले स्वीकार गर्नुपर्ने उनको भनाइ छ । उनकाअनुसार २०४८ सालको सरकारद्वारा सुरु गरिएको आर्थिक सुधारले नेपाललाई ७ प्रतिशतको औसत आर्थिक वृद्धिदरमा उकासेको थियो ।

यदि त्यसलाई निरन्तरता दिइएको भए हाल नेपालको अर्थतन्त्र करिब १ सय अर्ब डलरको आकारमा पुग्ने उनको भनाइ रहेको छ । तर उनले हाल ४५ अर्ब डलर बराबरको अर्थतन्त्र रहेको बताएका छन् । उनले पछिल्लो डेढ दशकदेखि भने नेपालमा राजनीतिक–आर्थिक उथलपुथलको चक्रमा फसेको बताएका छन् । त्यसको प्रतिबिम्ब भदौ २३–२४ का घटनाले पनि देखाएको उनको भनाइ छ । जेनजी आन्दोलनले मुलुक नयाँ मोडमा पुगेको उनले बताए ।

उनकाअनुसार यो सङ्क्रमणको सफल व्यवस्थापन हुन सकेमा देशले नयाँ आर्थिक–राजनीतिक मार्ग प्राप्त गर्नसक्छ । तर उनले असफलता भए पुनः प्रतिगमनको जोखिम गम्भीर रूपमा बढ्ने बताएका छन् । उनले यस चुनौतीपूर्ण अवस्थाबाट देशलाई निकाल्ने जिम्मेवारी नयाँ पुस्ताका राजनीतिक पात्र तथा नयाँ दलहरूले वहन गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने,  ‘नेपालमा एक डेढ दशकदेखि उकुसमुकुस भइरहेको छ । यसको प्रतिबिम्बको रूपमा भदौ २३ र २४ को विस्फोटमा पनि भयो र मुलुकको अर्थ राजनीतिक कोर्सलाई नै मोडिने गरेर र यसलाई  सम्हाल्न सक्यौँ भने हामी साँच्चिकै नयाँ ट्रयाज्क्टरीमा जान सक्छौँ भन्ने आशा पनि पलाएको छ ।’

उनले थपे, ‘यद्यपि यो सङ्क्रमणलाई व्यवस्थापन गर्न सकेनौँ भने फेरि अलिकति प्रतिगमन पश्चगमन अलि पुरानै उल्टै बाटो र त्यसले आशाहरू मार्ने, युवाहरूको यो देशमा अलिअलि बल्न लागेको दियो पनि निभ्ने होकि भन्ने आशङ्का पनि आजकल म देशभर डुल्दा पनि विदेशमा जाँदा पनि पाउँदछु ।’

उनले आगामी निर्वाचनपछि नयाँ आउने नेतृत्वले देशमा आर्थिक विकासको लागि दर्जनौँ कानुनमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार