शुक्रवार, आश्विन १६ गते २०८३

विवेकशील साझा पार्टी र रास्वपाबीच पार्टी एकता हुँदै, आइतबार घोषणा हुने

बुधवार , मंसिर १०, २०८२

काठमाडौँ ।  विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गर्ने निर्णय गरेको छ ।

आईतबार बसेको केन्द्रीय समिति बैठकले उपाध्यक्ष तथा संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारद्वारा पेश भएको बृहत्तर ध्रुवीकरण/एकीकरण प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्दै एकीकरणको मार्ग खुला गरेको हो ।

बैठकपछि जारी वक्तव्यअनुसार वैकल्पिक राजनीतिक आवश्यकता बढ्दै गएको र हालै देखिएको जेनजी आन्दोलनले दुवै दलबीच एकता प्रक्रियालाई थप तीव्र बनाएको बताइएको छ ।

उपाध्यक्ष परियारका अनुसार देशमा सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सक्षम वैकल्पिक शक्तिको आवश्यकतालाई एकताले बल दिएको छ ।

दुवै दलबीच एकीकरणका प्राविधिक पक्षहरू नेतृत्व तहको सहमतिको आधारमा छिट्टै टुंग्याइने जनाइएको छ । एकता घोषणा आगामी आईतबार राष्ट्रिय सभागृहमा सार्वजनिक गरिनेछ ।

विवेकशील साझा पार्टीका संस्थापक दिवंगत उज्वल थापाले स्थापित गरेको वैकल्पिक राजनीति र ‘विवेकशील आन्दोलन’लाई अगाडि बढाउने तथा प्रतिनिधि सभा निर्वाचनलाई परिणाममुखी बनाउने उद्देश्य समेत एकीकरणको केन्द्रमा रहेको प्रवक्ता आशुतोष प्रधानले बताए ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार