काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा आज पूर्ण सुनुवाइ हुँदैछ ।
यादवविरुद्ध मधेस प्रदेश सभाका सात दलले दायर गरेको रिटमाथि आज सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको इजलासमा पूर्ण सुनुवाइ हुन लागेको हो । यादव विरुद्धको रिटमा सर्वोच्च अदालतले यही मंसिर २ गते अन्तरिम आदेश दिँदै मुद्दाको अन्तिम टुंगो नलागेसम्म नीतिगत तथा दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न यादवलाई अन्तरिम आदेश दिएको थियो ।
तर, मुख्यमन्त्री यादवले हिजो मात्रै केही महत्वाकांक्षी योजना सार्वजनिक गरेका थिए । सर्वोच्चको आदेश विपरित यादवले तीन दिनअघि मात्रै मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी पनि तोकेका थिए । गएको कात्तिक २४ गते उज्यालो नहुँदै हतारहतार बर्दिवासको एक होटलमा मुख्यमन्त्री नियुक्त भएपछि एमाले नेता यादव विवादमा तानिएका हुन् ।
यादवलाई होटलमै शपथ गराएकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई सरकारले बर्खास्त गरिसकेको छ। त्यसैगरि उनलाई नियुक्तिको लागि अनुकूल वातावरण सिर्जना गर्ने सभामुख रामचण्ड मण्डल पनि महाअभियोगबाट पदमुक्त भइसकेको छन् ।
कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्र, लोसपासहितका सात दलले मुख्यमन्त्री यादवको नियुक्ति विरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।