काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले महिला हिंसा विरुद्धको अभियन्ता तथा जेनजी अगुवा मुस्कान खातुनलाई केन्द्रीय सदस्य बनाउने घोषणा गरेको छ ।
बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित पार्टी एकता घोषणा सभामा नेकपाका सहसंयोजक माधव कुमार नेपालले खातुनलाई केन्द्रीय सदस्य बनाउने घोषणा गरेका हुन् । खातुन नेपाली मानव अधिकारकर्मी समेत हुन् । उनी १५ वर्षको उमेरमा तेजाब आक्रमणको शिकार बन्न पुगेकी थिइन् । २१ वर्षीया खातुनले सन् २०२१ को अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गरेकी थिइन् ।
कार्यक्रममा बोल्दै उनले तेजाब आक्रमण मात्र हिंसा नभई सबै खाले हिंसाविरुद्ध लाग्न आग्रह गरिन् । उनले भनिन्, ‘आजभन्दा पाँच वर्ष अगाडि ममाथि तेजाब आक्रमण भएको थियो । त्यसका विरुद्ध म लगातार अभियानमा लागेँ । सफल पनि भए । मलाई के लाग्छ भने तेजाब आक्रमण मात्र हिंसा होइन । यस्ता धेरै हिंसा छन्, जसमा दिदी बहिनीले खेप्नुपरेको छ । सबै खालका हिंसा अन्त्य गर्न जरुरी छ ।’
उनले देशमा भएका भ्रष्टाचार, हिंसा अन्त्य होस् र त्यही चाहना अनुसार नेपाली कम्युनिस्ट पार्टीले काम गर्नेमा विश्वस्त भएकी छिन् ।