काठमाडौँ । एघारौँ महाधिवेशनका लागि नेकपा एमालेले आज देशैभरि प्रतिनिधि छनोट गर्दै छ।
एमाले केन्द्रीय कार्यालयका अनुसार यसका लागि अस्ति ११ गते सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएको छ।
त्यस क्रममा केही निर्वाचन क्षेत्रमा भने त्यही दिन सहमतिमा महाधिवेशन प्रतिनिधि छनोट भइसकेका छन्। बाँकी क्षेत्रमा भने आज बिहान ८ बजेदेखि निर्वाचन भइरहेको छ । मतदान समय अधिकांश क्षेत्रमा दिउँसो २ बजेसम्मका लागि तोकिएको छ।
विभिन्न जिल्लाले अनुकूलताअनुसार मतदानको समय तय गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार संघीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित तथा युवासहित करिब २ हजार प्रतिनिधि छानिँदै छन्।यस्तै प्रवास, जनसंगठन र विभागहरूबाट करिब १ सय प्रतिनिधि छनोट हुनेछन्। मनोनीतसमेत गरेर एमालेको एघारौँ महाधिवशेनमा करिब २२ सय प्रतिनिधि सहभागी हुनेछन्।