काठमाडौँ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा दिएको अभिव्यक्तिको आलोचना भएपछि प्रधानमन्त्री सुशीला कार्कीले स्पष्टीकरण दिएकी छन्।
आइतबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले सबै धर्म वा समुदायप्रति आफ्नो उत्तिकै सम्मान रहेको बताएकी हुन्। ‘नमस्कार! लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा मैले दिएको अभिव्यक्तिमा रहेर विभिन्न टिप्पणी भएका रहेछन्’, उनले लेखेकी छन्, ‘कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, छैन। सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ। शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध छ।’
प्रधानमन्त्री कार्कीले गत मंगलबार अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा बोल्दै मुस्लिम समुदायको सन्दर्भमा दिएको अभिव्यक्ति विवादित बनेको थियो । प्रधानमन्त्री कार्कीले सो कार्यक्रममा भनेकी थिईन् . ‘मुसलमानको व्यवहार र प्रवृत्ति जुन छ, यति अन्यायपूर्ण देखिन्छ दिउँदै लगेर गाड्ने । कतिपय मुस्लिम देशहरुमा महिलालाई पढ्न नदिने । जब मुसलमानहरुले हमला गर्न थाले, त्यसपछि उनीहरुले सात वर्षको बच्चालाई पनि विवाह गर्ने, अरु कुराहरुलाई पनि सङ्र्कीण बनाउँदै लगे भन्ने छ ।’