आइतवार, श्रावण २४ गते २०८३

एकता सन्देश सभाका कारण व्यापारमा असर परेको भन्दै पोखरामा व्यापारीको विरोध

आइतवार , मंसिर १४, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पोखराको मानवअधिकार चोकमा गर्ने भनेको एकता सभास्थलमा व्यापारीहरूले विरोध जनाएका छन् ।

नजिकका व्यापारीहरूले सभाका कारण व्यापारमा असर परेको भन्दै विरोध जनाएका हुन् । उनीहरुले पर्चा र पम्प्लेटसहित विरोध जनाएका थिए । गरी खान देऊ भन्ने माग सहित उनीहरुले विरोध जनाएका हुन् । पोखराको ट्रेडमलका व्यवसायीले सडकमा सभा आयोजना गर्न दिनेलाई समेत कारबाहीको माग गरेका छन् । सडकमा हुने सभाले व्यापार व्यवसाय चौपट भएको छ । धेरै पहिलेदेखि शान्तिपूर्ण रुपमा माग राख्दा समेत सुनुवाइ भएन, अहिले पनि सोही ठाउँमा आन्दोलन र प्रदर्शन भइरहेको छ । यसमा हाम्रो विरोध छ ।

चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिका अध्यक्ष दुर्गा सुनारले केही रकमका लागि सडक बेचिएको आरोप लगाएका छन् । उनले व्यवसायीको ध्यान नदिई कार्यक्रमलाई सडक दिँदा मन्दी खेप्नुपरेको बताएका छन् । उनी भन्छन्, ‘केही रकमको भरमा सडक बेचिँदैछ । आजदेखि नै यस्तो कार्यक्रम बन्द होस् । ४ घण्टा बन्द गरेर व्यवसायमा कति नोक्सान हुन्छ ?’  । व्यवसायीहरूले मेयर धनराज आचार्यको समेत विरोध गरेका छन् ।

यसअघि नै महानगरलाई ज्ञापनपत्र बुझाएर त्यस ठाउँमा कार्यक्रम नगरिदिन धेरै पटक आग्रह गरेपनि सुनुवाइ नभएको सुनारले बताएका छन् । सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह संयोजक माधवकुमार नेपाल लगायत शीर्ष नेतृत्वले सम्बोधन गर्नेछन् ।

व्यवसायीले विरोध गरेपछि केही समय नेकपाका कार्यकर्तासँग भनाभन भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार