शुक्रवार, आश्विन १६ गते २०८३

एमालेको एघारौं राष्ट्रिय महाधिवेशनका लागि पार्किङ खर्च दैनिक २५ हजार रूपैयाँ

सोमवार , मंसिर १५, २०८२

काठमाडौं । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनका लागि राजधानीको भृकुटीमण्डपमा प्रत्येक दिन एक हजार गाडी पार्किङ गर्न ठाउँ बुकिङ गरिएको छ ।

महाधिवेशन आयोजक समिति अन्र्तगतको सवारी व्यवस्थापन उपसमितिले पार्किङका लागि तयारी ठाउँ निश्चित गरेको हो । उपसमिति सचिव रचना खड्काका अनुसार भृकुटीमण्डप क्षेत्रभित्र खुला ठाउँमा व्यवस्थित रूपमा पार्किंङ गर्न त्यहाँको नियमअनुसार तिर्नुपर्ने पैसा तिरेरै पार्किङ स्थल बुक गरिएको हो । मंसिर २७ देखि २९ सम्म चल्ने महाधिवेशनमा करिब २ हजार ३ सय प्रतिनिधि, पदाधिकारी तथा सयौँ पार्टी कार्यकर्ताहरू सहभागी हुनेछन् ।

भृकुटीमण्डपमा मंसिर २६ गतेदेखिकै लागि स्थान बुक गरिएको छ । खड्काले भनिन्, ‘उदघाटन सत्रका लागि भक्तपुरमा छुट्टै तयारी छ । भृकुटीमण्डपभित्र र होटलमा बस्ने प्रतिनिधिका लागि पनि यातायात र पार्किङका अलग–अलग तयारी गरेका छौँ ।’ महाधिवेशन भक्तपुरको सल्लाघारीमा उद्घाटन हुनेछ भने बन्दसत्र लगायतका सबै कार्यक्रम भृकुटीमण्डपमा हुनेछन् । उदघाटनको दिन काठमाडौंतिरबाट जाने सवारी साधनले सल्लाघारी वरै पार्किङ गर्नुपर्नेछ । बनेपातिरबाट आउनेले जगातीभन्दा उतै पार्किङ गर्नुपर्नेछ ।

भृकुटीमण्डपको व्यवस्था हेर्ने समाज कल्याण परिषद कार्यालयका अनुसार एमालेले फरक–फरक दुई ठाउँको पार्किङस्थल बुक गरेको हो । पहिलो प्लान अन्तर्गत ४ सय गाडी पार्किङ हुन्छन् । दोस्रो प्लानअनुसार ६ सय गाडी पार्किङ हुनेछन् ।

दुवै ठाउँका लागि पार्किङ शुल्क दैनिक २५ हजार रुपैयाँ तिर्नुपर्छ । यो रकम आयोजक समितिले भुक्तानी गर्नेछ । सहभागी हुन आउनेहरुले निःशुल्क पार्किङ पाउनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार