शुक्रवार, आश्विन १६ गते २०८३

कांग्रेसले राष्ट्रिय सभाका उम्मेदवारका आकांक्षीको नाम सिफारिस गर्न परिपत्र गर्ने

मंगलवार , मंसिर १६, २०८२

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गत समानुपातिक र प्रत्यक्ष एवं राष्ट्रिय सभाका उम्मेदवारका लागि तल्लो तहबाट नाम सिफारिस गर्न परिपत्र गर्ने भएको छ ।

राष्ट्रिय सभामा रिक्त हुने सदस्यहरूका लागि ११ माघमा निर्वाचन तोकिएको छ । कांग्रेसको विधान अनुसार केन्द्रलाई बढीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । राष्ट्रिय सभा सदस्यका लागि मातहतका जिल्लाबाट योग्यता पुगेका सम्भावित नामको सूची माग केन्द्रले गर्ने पार्टी विधानमा व्यवस्था छ । एक सिटका लागि तीन जनाको नाम सहमति वा सहमति हुन नसके बहुमतबाट निर्णय गरी केन्द्रमा पठाउन सकिने छ ।

तल्लो तहबाट प्राप्त नामहरूका आधारमा संसदीय समितिले उम्मेदवार चयन गर्ने व्यवस्था छ । सोमबार सकिएको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा (प्रत्यक्ष र समानुपातिक) सदस्य उम्मेदारका आकांक्षीहरूको नाम केन्द्रमा पठाउनका लागि मातहतका संरचनालाई परिपत्र गर्ने निर्णय गरेको छ ।

सोमबार केन्द्रीय समितिले गरेको निर्णयमा उल्लेख छ, ‘प्रक्रिया पुर्‍याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीका सम्बन्धित निकायलाई केन्द्रीय कार्यालय मार्फत् स्पष्ट निर्देशन सहितको परिपत्र गर्ने ।’

समानुपातिक एवं प्रत्यक्षको उम्मेदवार चयन गर्दा कांग्रेसले तल्लो तहबाट नामहरू सिफारिसका लागि परिपत्र गर्ने व्यवस्था छ । निर्वाचन आयोगले समानुपातिकतर्फको बन्द सूची पेस गर्नका लागि १८ र १९ पुस तोकेको छ ।

प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको निर्वाचन २१ फागुनका लागि तोकिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार