शुक्रवार, आश्विन १६ गते २०८३

मधेशका मुख्यमन्त्री सरोजकुमार यादव राजीनामा दिने तयारीमा

बुधवार , मंसिर १७, २०८२

काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिने तयारी गरेका छन् ।

प्रदेश सभा बैठकमा आफ्ना धारणा राखेर राजीनामा दिने उनको तयारी छ । विश्वासको मत लिनका लागि आज बिहान साढे ८ बजे नै प्रदेश सभा बैठक बोलाइए पनि  बैठक सुरु हुन सकेको छैन् । प्रदेश सभा बैठकमा मुख्यमन्त्री नै नगएपछि दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

प्रदेश सभाको अंकगणित हेर्दा उनले विश्वासको मत नपाउने निश्चित जस्तै छ । १०७ सदस्यीय मधेश प्रदेश सभामा सरकारको विश्वास कायम राख्न कम्तिमा ५४ मत आवश्यक पर्छ । तर ठूलो दल एमालेसँग सभामुखसहित २५ सांसद मात्र छन्, जसमा एकजना निलम्बित छन् । एमालेको साथमा एक–एक सिटको नेपाल संघीय समाजवादी र राप्रपा छन् ।

पार्टीको नीतिविपरीत प्रदेश सरकारमा सहभागी भएर वन तथा वातावरणमन्त्री बनेकी राप्रपाकी कञ्चन बिच्छा पदमुक्त भइसकेकी छन् । उनको सांसद पद खारेज गर्न राप्रपाले आइतबार नै प्रदेश सभा सचिवालयलाई पत्राचार गरेको थियो । सात दलीय गठबन्धनमा भने ७३ सांसद छन् । अहिलेसम्म गठबन्धनका दल एक ठाउँमा छन् ।

गठबन्धनमा कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार