काठमाडौं । उज्यालो पार्टी नेपालकी नेतृ रिमा विश्वकर्माले देशले परिणाममुखी नेतृत्व खोजिरहेको बताउँदै सक्रिय राजनीतिमा सहभागी हुन आग्रह गरेकी छिन् ।
उज्यालो नेपाल पार्टीको घोषणा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । उनले आफ्नो जीवनमा राजनीति चेत आएसँगै सबैभन्दा बढी प्रभाव पार्ने निर्णय नै लोडसेडिङ अन्त्यको निर्णय भएको बताइन् । उनले भनिन्, ‘देशले परिणाममुखी नेतृत्व खोजिरहेको छ । म जन्मिएदेखि जब राजनीतिक चेत ममा आयो । यो देशमा सरकारमा बसेर कसैको नेतृत्वले मेरो जीवन र दैनिकीमा प्रत्यक्ष प्रभाव पारेको थियो र असर गरेको थियो भने त्यो लोडसेडिङको निर्णय थियो ।’
उनले सोही दिनदेखि कुलमान घिसिङलाई अगुवा मानेको पनि सम्बोधनको क्रममा बताइन् । उनले भनिन्, ‘मैले त्यही दिन कुलमान घिसिङलाई आफ्नो अगुवा मानेको थिएँ । १८ घण्टे लोडसेडिङ हटाएर कुलमान जोजोले तपाईं हाम्रो घरमा उज्यालो त ल्याइसक्नुभयो, अब उहाँकै नेतृत्वमा हामी देशको भविष्य उज्यालो बनाउने अभियानमा लागेका छौं । यो अभियान देशलाई माया गर्ने हरेक नेतृत्वको हो ।’
उनले सक्रिय राजनीतिमा सहभागी हुने यो नै उपयुक्त समय रहेको बताइन् । विश्वकर्माले भनिन्, ‘अब सक्रिय राजनीतिमा आउन ढिला भइसक्यो । सक्रिय राजनीतिमा आउने उपयुक्त समय आज र अहिले नै हो ।’