काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको छ ।
उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्ने उद्देश्यले यो नयाँ व्यवस्था लागू गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन् ।
लामो दूरीका सवारी साधनले पछिल्ला दिनमा स्थानीय सवारी साधन (लोकल बस) जस्तै जथाभावी सडक किनारमै रोकेर यात्रु चढाउने र ओराल्ने गर्दा विशेषगरी ‘पिक आवर’मा सडकमा जाम हुने गरेको छ ।
सुवेदीले भने, ‘राजधानीका सडकमा भिडभाड बढिरहेको छ, त्यसमा पनि लामो दुरीका गाडीहरूले नियमविपरीत सडकमा रोकेर यात्रु चढाउने–झार्ने गर्दा जाम अझै चर्काएको छ, त्यसैले अब सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको हो ।’
यसैगरी लामो दूरीका गाडीलाई दिइँदै आएको बाटो इजाजतपत्रसमेत पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएकाले ट्राफिक कार्यालयले सम्बन्धित निकायसमक्ष आवश्यक पहलका लागि अनुरोध गरिसकेको प्रवक्ता सुवेदीले बताएका छन् ।