काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा जुटेको बताएकी छन् ।
बिहीबार आयोजित २२औं राष्ट्रिय ज्यापु दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । प्रधानमन्त्री कार्कीले भनिन्, ‘सरकारले आउँदो २१ फागुनमा आमनिर्वाचन गराई युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउनु पर्ने हाम्रो दायित्व छ । तसर्थ, घोषित मितिमा चुनाव सम्पन्न गर्ने लक्ष्यका साथ सरकार सम्पूर्ण रूपले जुटेको छ ।’
उनले थपिन्, ‘यो अभियानलाई सफल पार्न सबै नेपालीको सहभागिता र सहयोग अपेक्षा राख्दछु ।’ २३ र २४ भदौको जेनजी आन्दोलनसँगै घटेका घटनाहरूबाट पाठ सिक्नु पर्ने भन्दै उनले मुलुकको युवा शक्तिले भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना, आमजनतालाई रोजगारी, गाँसबास–कपासको सुनिश्चितताको माग गरेको बताइन् ।
उनले भनिन, ‘ती चाहनाहरू पूरा गर्न सबैले कटिबद्ध भएर आआफ्नो ठाउँबाट लाग्न आवश्यक छ ।’