काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षमा निरन्तरता दिनुपर्ने बताएका छन् ।
शुक्रबाधर प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टीले ओलीलाई नै निरन्तरता दिने निष्कर्षमा पुगेको बताएका हुन् । उनले मुलुकमा राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको रक्षा र प्रतिक्रान्तिलाई परास्त गर्न पनि ओली नेतृत्वको विकल्प नभएको निष्कर्षमा पार्टी केन्द्रीय समिति पुगेको दाबी गरेका छन् ।
ओलीका नीति, विचार र उनले हासिल गरेका उपलब्धिले पनि उनलाई नै नेतृत्वमा निरन्तरता दिन आवश्यक देखिएको उपाध्यक्ष थापाले बताएका छन् । यस क्रममा उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति संकेत गर्दै अहिलेको अवस्थामा नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त नभएको टिप्पणी गरेका छन् ।
उनले भने, ‘हुन त अहिले विभिन्न कमरेडहरूले सार्वजनिक रूपमा विभिन्न उम्मेदवारी घोषणा गरिरहनुभएको छ । केन्द्रीय समितिको निर्णयको कोणबाट हेर्दा यो ढंगमा जानु एमाले नेताहरूका लागि उपयुक्त होइन । यसले पार्टीलाई एकताबद्ध गर्दैन, यसले अझ विघटन र विर्सजनतिर लैजान्छ । अहिलेको सन्दर्भमा प्रतिस्पर्धाको नामबाट यो ढंगले जान हामी उपयुक्त हुँदैन । त्यसकारण एकताबद्ध नेतृत्व सहमतिका साथ अघि बढाउने केन्द्रीय समितिको निर्णय भएको र आम जनताको , कार्यकर्ताको यो चाहना भएको हुनाले यही ढंगले जानुपर्छ भन्ने हाम्रो ठहर छ ।’
उपाध्यक्ष थापाले पदाधिकारी संख्या र केन्द्रीय समितिको आकार बढाउन आवश्यक देखिएको उल्लेख गर्दै त्यसका लागि विधानमा संशोधन गरेर अघि बढ्न आवश्यक रहेको समेत बताएका छन् ।