काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली महाराजगन्जस्थित देउवा निवासमा छलफलमा जुटेका छन् ।
एमाले अध्यक्ष ओली देउवालाई भेट्न शुक्रबार उनकै निवास महाराजगन्ज पुगेका हुन् । उनीबीच शुक्रबार अपराह्न ४ बजे छलफल सुरु भएको देउवा सचिवालय स्रोतले जानकारी दिएको छ । स्रोतले भन्यो, ‘सभापति भेट्न एमाले अध्यक्ष भरखरै आइपुग्नुभएको छ ।’ गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि देउवा र ओलीबीच भेटवार्ता भएको पहिलो पटक सार्वजनिक भएको हो ।
आउँदो माघ ११ मा राष्ट्रिय सभा सदस्य र फागुन २१ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन तय भएको छ । दुवै नेताबीच निर्वाचनबारे पनि छलफल हुने जनाइएको छ । जेनजी आन्दोलनका क्रममा देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि आक्रमण भएको थियो । घाइते भएका देउवा दम्पत्ति उपचारका लागि सिंगापुर पुगेका थिए । केही समयअघि मात्रै उनी उपचार गरेर नेपाल फर्किएका थिए ।
जेनजी आन्दोलनपछि देउवाले पूर्णबहादुर खड्कालाई कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी दिएर आफू आराम गरिरहेका छन् ।