काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन् ।
शुक्रबार सात दलीय गठबन्धनको तर्फबाट यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् । नयाँ सरकार गठनको गृहकार्यमा लागेका सातदलसँग मधेस प्रदेश सभामा दुई तिहाई भन्दा धेरै मत छ । प्रदेश प्रमुख कर्णले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका थिए ।
ठूलो दलको हैसियतमा गएको कात्तिक २४ गते मधेसको मुख्यमन्त्री नियुक्त भएका सरोज यादवले प्रदेशसभामा बहुमत सिद्ध गर्न नसकेपछि गएको बुधबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि एमालेबाहेकका सात दल मधेसमा नयाँ सरकार गठनको लागि अघि सरेका हुन् । नेपाली कांग्रेस मधेस प्रदेश सभामा एमालेपछि दोस्रो ठूलो दल हो ।
प्रदेस सभामा एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीका १–१ सांसद छन् ।