काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जनतासँग गरिएका वाचाहरू पूरा गर्न नसक्दा आफूलाई डर लाग्ने गरेको बताएकी छन् ।
१४औँ काठमाडौं महानगरपालिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेकी हुन् । उपमेयर डंगोलले सामूहिक रूपमा सल्लाह गरेर मात्रै अघि बढाउने कुराहरू बोलेर भन्नु उचित हुने बताइन् । उनले भनिन्, ‘कति कामहरू गरेर भन्नु अझ राम्रो हुन्छ होला, आफ्नै हातमा सबै कुराहरू भइदिएको भए त गरिएका वाचाहरू पूरा गर्न सजिलो पनि हुन्थ्यो ।’
उनले कतिपय कुराहरू एकल अधिकारमा नपर्ने भएकाले कार्यपालिका वा नगरसभामा सबैको सहमतिमा अघि बढ्नुपर्ने बाध्यता सुनाउँदै उनले भनिन्, ‘आज वाचा गरेर भोलि पूरा गर्न सकिँदैन कि भन्ने डर पनि हुन्छ ।’ साथै, वाचाअनुसार काम नगरेको खै त भनेर सोध्न आउने कुरा पनि आफूलाई थाहा भएको उनले बताइन् । उपमेयर डंगोलले जनताको घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिइरहेका महिला स्वास्थ्य स्वयंसेविकाहरूको प्रशंसा गरिन् ।
उनले स्वयंसेविकाहरूको स्वास्थ्य बीमामा देखिएको समस्या समाधान का लागि पहल गर्ने आश्वासन दिँदै प्रतिबद्धताअनुसार काम गर्दै लैजाने बताइन् ।