शुक्रवार, आश्विन १६ गते २०८३

प्रधानमन्त्रीले दलका नेतालाई भनिन्- चुनाव हुन्छ कि हुन्न आशंका नगरौँ, कसरी सफल पार्ने भन्ने सोचौँ

शुक्रवार , मंसिर १९, २०८२

काठमाडौँ ।  प्रधानमन्त्री सुशीला कार्कीले चुनावबारे अब आशंका नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेकी छन्। उनले चुनाव हुन्छ कि हुन्न भनेर सोच्न भन्दा पनि चुनाव कसरी सफल पार्ने भन्नेतर्फ ध्यान दिन सबैलाई आग्रह पनि गरिन्। 

शुक्रबार राजनीतिक दलहरू, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखसँगको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सबै एकमत भए निर्वाचनमा कसैले खलल पार्न नसक्ने बताएकी हुन्।

‘चुनाव हुन्छ कि हुँदैन भन्ने अब नसोचौँ। कसरी चुनाव सफल पार्ने भनेर सोचौँ। सबैले एक चित्तले सोचेमा चुनाव नहुने कुरै छैन’ उनले भनिन्, ‘१२६ वटै दलले चुनाव हुनुपर्छ भन्ने धारणा राख्नुपर्छ। हामी एकमत भयौँ भने निर्वाचनमा कसैले खलल पार्न सक्दैन। खराब तत्वले आक्रमण गर्न सक्दैन।’ प्रधानमन्त्री कार्कीले सुरक्षाको व्यवस्था बनाउन समूदायले सरकारलाई सघाउनुपर्ने बताइन्। 

उनले भनिन्, ‘सुरक्षाको पहिलो कडी जनता नै हो, समुदाय नै हो। त्यसपछि मात्र प्रहरी, सशस्त्र, सेना हुन्छ। भूतपूर्व सुरक्षाकर्मी पनि छन्।’

बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चारमन्त्री जगदीश खरेलको पनि सहभागिता थियो।

राजनीतिक दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका नेताहरूको सहभागिता थियो।  

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित तीनै जना आयुक्त, सचिव र सहसचिवसमेत गरी ७ जनाको प्रतिनिधिमण्डलको उपस्थिति थियो। चारवटै सुरक्षा निकायका प्रमुखहरू पनि बैठकमा थिए।

गृहमन्त्री अर्यालसहित चारै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका सन्दर्भमा सुरक्षाको अवस्था र तयारीका विषयमा स्पष्ट पारेका थिए।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आयोगले पूर्ण रूपमा निर्वाचन गराउन तयारीका साथ अघि बढिरहेको र यसबीचमा धेरै उल्लेखनीय सफलता प्राप्त गरिसकेको विवरण प्रस्तुत गरे।

प्रधानमन्त्री कार्कीले आजको भेला निर्वाचनको वातावरण बनाउने सन्दर्भमा अहिलेसम्मकै महत्त्वपूर्ण र उपलब्धिमूलक भएको बताइन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार