शुक्रवार, आश्विन १६ गते २०८३

प्रधानमन्त्रीलाई जेन-जीको चेतावनी– आन्दोलनको बेइज्जत नगरिदिनुस्, राजीनामा दिनुस्

आइतवार , मंसिर २१, २०८२

काठमाडौं । जेन–जी अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीसँग राजीनामा माग गरेका छन् ।

आफ्ना सहकर्मी एवं अभियन्ता प्रकाश शर्माको रिहाइको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका ढुंगानाले वर्तमान सरकारले आन्दोलनको भावना र मर्मलाई अपमान गरेको भन्दै आक्रोश पोखेका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै ढुंगानाले प्रधानमन्त्रीलाई आन्दोलनको बेइज्जत नगर्न आग्रह गरेका छन् । ढुंगानाले भने, ‘हाम्रो माग एकदमै सरल र नेपाली जनताको हितका लागि छ। आन्दोलनले देश विकास हुने ठुलो सम्भावना बोकेको थियो, तर यो सरकारले त्यसलाई हाइज्याक गर्‍यो ।’

सरकार गठन भएको तीन महिना बितिसक्दा पनि कुनै उपलब्धिमूलक काम नभएको उनको आरोप छ । उनले भने, ‘हामीले तीन महिना त दिएको हो, तर उहाँले कुनै पनि सिग्निफिकेन्ट र महत्त्वपूर्ण काम गर्नुभएन, त्यही भएर हामीले अभियान चलाइरहेका छौँ ।’ ढुंगानाले सरकारलाई चेतावनी दिँदै भने, ‘यदि सक्नुहुन्छ र आन्दोलनको मर्म बुझ्नुहुन्छ भने त्यही अनुसार काम गर्नुस्, नत्र भने राजीनामा दिनुस् । हामी सोझो कुरा गर्छौँ ।’

आन्दोलनको बलमा बनेको सरकारले नै काम गर्न नसकेको भन्दै उनले निराशा व्यक्त गरे। ‘आन्दोलनपछिको सरकारले नगरे अब आउने निर्वाचित सरकारले गर्छ कि गर्दैन भन्ने आस त गर्नै सकिएन् । हामीले बारम्बार विश्वास गरिरहेका हौँ,’ उनले थपे, ‘बरु राजीनामा दिनुस्, बाँकी काम हामी सबै मिलेर गोलमेच सम्मेलन गरेर अघि बढाउन सकिन्छ ।’

मिराज ढुंगाना नेतृत्वको गरिखान देऊ अभियानका सदस्य प्रकाश शर्मालाई प्रहरीले पक्राउ गरेपछि उनी त्यहाँ पुगेका थिए। शर्मालाई शनिबार साँझ ८ बजे अनामनगर क्षेत्रबाट नियन्त्रणमा लिइएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारको पर्खालमा पोस्टर टाँसेको आरोपमा शर्मा पक्राउ परेका हुन् । उनी १०–१५ जनाको समूहको नेतृत्व गर्दै बालुवाटारमा पोस्टर टाँस्न पुगेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार