शुक्रवार, आश्विन १६ गते २०८३

एमाले जनताको बीचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने अवस्था देखा पर्दैछ : सुरेन्द्र पाण्डे

सोमवार , मंसिर २२, २०८२

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी जनताको बिचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने अवस्था देखा पर्दै गएको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एघारौं महाधिवेशनबारे आयोजित अन्तर संवादमा बोल्ने क्रममा उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन् । पाण्डेले भने, ‘यो लोकतान्त्रिक इतिहास बोकेको पार्टीलाई व्यक्तिवादी, केही व्यक्तिको निर्णयबाट चल्ने स्थितिको विकसित हुँदै गएको छ, जसले गर्दा नेकपा एमाले जनताको बीचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने अवस्था देखा पर्दैछ ।’

उनले नवपुस्ताले पनि चुनाव नहुने, प्रतिस्पर्धा गर्न पाइने र माथिबाटै लिस्ट पेश हुने पार्टीमा किन लाग्ने भनेर आउने सम्भावना नरहेको बताएका छन् । पाण्डेले भने, ‘विस्तार भएर जानुपर्ने, नवपुस्ताको बीचमा पार्टी विस्तार हुनुपर्नेमा पनि नवपुस्ताले पनि देख्यो, चुनाव नहुने पार्टीमा किन आउने ? प्रतिस्पर्धा गर्न नपाउने पार्टीमा किन आउने ? माथिबाट लिस्ट पेश गर्ने पार्टीमा किन आउने ? जहाँ कुनै सम्भावना छैन ।’ साथै, उनले यसलाई बदल्न सक्नुपर्ने भनाइ राखेका छन् । जसका लागि कानुनी र संवैधानिक काम पनि गर्न जरुरी रहेको पाण्डेको भनाइ छ ।

उनले पार्टीमा एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था कानुनमै राख्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘यसका लागि अर्को काम पनि गर्नुपर्छ । यो एउटा राजनीतिक प्रश्न हो । यसको समाधान कानुनी र संवैधानिक पनि गर्न जरुरी छ । त्यो भनेको एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने भन्ने व्यवस्था कानुनमा ल्याउनुपर्छ ।’ पुरानामा पार्टीमा मात्रै नभइ नयाँ बनेका पार्टीमा पनि यो समस्या देखिन थालेकोमा उनले चिन्ता व्यक्त गरेका छन् ।

पाण्डेले भने, ‘यो हरेक पार्टी, नयाँ बनेको पार्टीमा पनि त्यही समस्या छ । मैले के देख्दैछु, नयाँ पार्टी पनि उस्तै छ । अहिले जो नेता बनेका छन्, उनीहरू पनि अध्यक्ष छाड्न चाहँदैनन् ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार