शुक्रवार, आश्विन १६ गते २०८३

विस्तारै हाम्रो समाज अनियन्त्रित अराजकतातिर जाने खतरा बढाइदिएको छ : ईश्वर पोखरेल

सोमवार , मंसिर २२, २०८२

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पछिल्ल्ला घटनाहरूले नेपाली समाजको नैतिक मूल्य र साँस्कृतिक बन्धनका जुइना खुस्किन थालेको संकेत गरिरहेको टिप्पणी गरेका छन् ।

आफ्नो समूहले महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा समावेश गर्नुपर्ने भन्दै सोमबार केन्द्रीय कार्यालयमा बुझाइएको अवधारणापत्र यस्तो विश्लेषण गरिएको छ । अवधारणापत्रमा पोखरेलले समाजमा रहेको आम निराशा र असन्तोष आन्दोलनका रूपमा अभिव्यक्त भइरहेको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘अर्थराजनीतिमा रहेका संरचनागत संकटले जनजीवनमा निम्त्याएको दुःखका बहुआयामिक प्रभावहरू छन्, आम निराशा र असन्तोष त्यसको अभिव्यक्तिमात्र हो ।’

उनले थपेका छन्, ‘असन्तोषहरुको अराजक विष्फोटले सिलसिलाको रूप लिएको छ । पछिल्लो वर्ष गोंगबुको ल्होत्से मलको घटना, गत चैत १५ गते आन्दोलनका नाममा भएको तीनकुने कोटेश्वरका लुटपाट र भदौ २४ गतेका घटनाले नेपाली समाजको नैतिक मूल्य र साँस्कृतिक बन्धनका जुइना खुस्किन थालेको संकेत गर्दछन् ।’ नेपाली समाज अनियन्त्रित अराजकतातिर जाने खतरा बढिरहेको उनको विश्लेषण छ ।

उनले भनेका छन्, ‘स्रोतमाथिको पहुँचमा विभेद, रोजगारीको अभाव, आर्थिक वृद्धिको न्यायोचित वितरणको अभाव, सुशासनको अभावले विस्तारै हाम्रो समाज अनियन्त्रित अराजकतातिर जाने खतरा बढाइदिएको छ । व्यवसायिक लगानीको वातावरण कमजोर भएको छ ।’ वरिष्ठ उपाध्यक्ष पोखरेलले थपेका छन्, ‘वैदेशिक लगानी आकर्षण गर्ने सम्भावना तत्काललाई क्षीण भएको मात्र होइन, अप्रत्यक्ष बाटोबाट पूँजी पलायनको सम्भावना बढेको छ । यसले राज्य असफलताको अवस्थातिर धकेल्ने जोखिम रहन्छ ।’

सरकारमा रहँदा पनि एमालले अर्थराजनीतिमा रहेका संरचनागत संकटप्रति पर्याप्त हस्तक्षेप गर्न नसकेको स्वीकार गरेका छन् । उनले भने, ‘अर्थराजनीतिमा रहेको संरचनागत संकटप्रति हामीले आफू सरकारमा हुँदा पर्याप्त हस्तक्षेप गर्न सकेनौं । पार्टीका विचारहरु र हामीले जनतासँग गरेका कबुलको वस्तुनिष्ठता र सत्यतालाई बारम्बार पुष्टि गर्नबाट हामी चुक्यौं ।’

उनले अगाडि भनेका छन्, ‘लामो समयसम्म राज्य र सरकारको नेतृत्व गरेर पनि यी संकट हल गर्नतिर पर्याप्त ध्यान दिन नसकेकोमा हामीले आत्मालोचना गर्नुपर्दछ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार