काठमाडौँ । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ । पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेल सहितको टिम प्रतिनिधिको विवरण अध्यावधिक गर्ने कार्यमा निरन्तर जुटेका छन् ।
विभागका प्रमुख अधिकारीले महाधिवेशनमा आउनेमध्ये २ हजार १ सय ५४ जना निर्वाचित भएर आउने बताए । १ सय ८ जना केन्द्रबाट प्रतिनिधि मनोनीत हुने छन् । मनोनीतसहित प्रतिनिधिको संख्या २ हजार २ सय ६२ हुने अधिकारीले जानकारी दिए ।
एमालेको महाधिवेशन बन्द शत्र हलमा प्रतिनिधि बाहेक थप ३ सय ५१ जना सदस्य सहभागीका रुपमा प्रवेश गर्दैछन् । उनीहरु सल्लाहकार परिषद्का सदस्यहरु हुन् । सल्लाहकार परिषदमा ३ सय ७६ जना सदस्य रहेकोमा २५ जना प्रतिनिधि निर्वाचित भएर आएका छन् । प्रतिनिधि हुन नसकेकालाई महाधिवेशनमा सहभागीका रुपमा प्रवेश गर्ने व्यवस्था मिलाइएको हो । प्रतिनिधि र सहभागी गरी महाधिवेशनमा २ हजार ६ सय १३ जना सहभागी हुनेछन् ।
विभागले दिएको जानकारी अनुसार महाधिवेशन प्रतिनिधिहरुको परिचय पत्र छपाइको काम पनि धमाधम भइरहेको छ । हालसम्म ७० प्रतिशत कार्ड छपाई सकिएको केन्द्रीय कार्यालयले जनाएको छ । आगामी २५ गतेभित्र सम्पूर्ण प्रतिनिधि र कार्ड छपाइको काम सकिने केन्द्रीय कार्यालयले जनाएको छ ।