काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट आसन्न निर्वाचनमा उम्मेदवार हुने बताएका छन् ।
सभापति देउवाले अन्तिमपटक चुनावी प्रतिस्पर्धा गर्ने नेताहरुलाई बताएका हुन् । डडेलधुराका कांग्रेस सभापति भीमबहादुर साउदले सभापति देउवाले उम्मेदवार हुने इच्छा राखेपछि सर्वसम्मत सिफारिस गरिने बताएका छन् । अघिल्लो साता सभापति देउवालाई भेट्न महाराजगञ्जस्थित निवास पुगेका सुदूरपश्चिमका एक केन्द्रीय सदस्यले पनि देउवाले चुनाव लड्न चाहेको बताएको जानकारी गराएका छन् ।
सभापतिलाई भेटेका ती नेताले भने, ‘साथीहरुले तपाईं नै उठ्नुपर्यो भनेका छन् । म उठ्छु भन्नुभएको छ ।’ मंगलबार बिहान सभापति देउवालाई भेट्न पुगेका नेविसंघका नेता भुवन भट्टले पनि सभापति देउवाले अन्तिमपटक चुनावमा उठ्ने जानकारी गराएको बताएका छन् । कांग्रेसले यही महिनाको अन्तिमसम्म केन्द्रमा नाम सिफारिस गर्न परिपत्र गरेको छ ।
निर्वाचन क्षेत्रीय समितिले प्रदेश समितिलाई मंसिर २५ भित्र नाम पठाउन भनिएको छ । कांग्रेस विधान अनुसार एक महिला सहित तीन जनाको नाम उपल्लो तहमा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।
देउवाले २०४८ सालदेखि निरन्तर डडेलधुरामा चुनाव जित्दै आएका छन् ।