शुक्रवार, आश्विन १६ गते २०८३

भ्रष्टाचारविरुद्ध कठोर हुन्छौं, धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की

मंगलवार , मंसिर २३, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी मात्र नभई सुशासनका लागि पनि बनेको बताएकी छन् । उनले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार तयार भएको बताइन् ।

भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिंहदरबारमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सो कुरा बताएकी हुन् । उनले भनिन्, ‘यो सरकार चुनावी सरकार मात्र होइन । सुशासनको माग राखी भएको जेन्जी आन्दोलनको जगमा बनेको सरकार हो । सरकारले नियमित कार्य सँगसँगै सुशासनका निमित्त तीव्र गतिमा काम गरिरहेको छ ।’

त्यसका लागि राज्य संयन्त्र क्रियाशील रहेको उनले बताइन् । प्रधानमन्त्री कार्कीले भनिन्, ‘जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ला तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन्, यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेका छन् ।’

उनले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा काम गर्दा धम्की आए पनि नडराउने स्पष्ट पारिन् । उनले भनिन्, ‘यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्वले प्रत्यक्ष वा परोक्षरुपमा धम्क्याए पनि हामी डराउँदैनौँ ।’

प्रधानमन्त्री कार्कीले सम्बन्धित निकायका पदाधिकारी र राष्ट्र सेवकहरुलाई पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न आग्रह गरिन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार