काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवल शमशेर जबराले नेपालमा अब सक्रिय राजतन्त्र सम्भव नरहेको बताएका छन् ।
राप्रपाले मंगलबार काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै जबराले सक्रिय नभएर संवैधानिक राजतन्त्र आवश्यक भएको बताएका छन् । महामन्त्री जबराले भने, ‘धेरै साथीहरूले सक्रिय राजतन्त्रका कुरा गर्छन् । त्यो कुरासित हामी सहमत छैनौँ, अब सक्रिय राजसंस्था होइन, संवैधानिक राजसंस्था आवश्यक छ । यो कुरा मैले राजासँग पनि सोधेर स्पष्ट पारेको छु ।’
सक्रिय राजतन्त्रसँग सहमत नरहेको र नेपालमा संवैधानिक राजसंस्थाबारे पूर्व राजा ज्ञानेन्द्रसँग पनि कुराकानी भएको उनको भनाइ थियो । अब नेपालीका छोराछोरीले देश चलाउने र अभिभावकको भुमिकामा राजसंस्था राख्नुपर्ने उनको जिकिर थियो । उनले भने, ‘नेपालीका छोराछोरीले देश चलाउने हो । अभिभावकको भुमिका राजसंस्थाले गर्नुपर्छ । यो विषयमा हामी स्पष्ट हुनुपर्छ ।’
बरु हिन्दू राज्यका विषयमा चेनतना जगाउनुपर्ने उनको मत थियो । जबराले भने, ‘सनातन हिन्दू अधिराज्य कायम गर्ने यो सभा हो । यो चेतना जगाउने ठाउँ हो ।’